पशुपति शर्मा भन्छन्– आमा कांग्रेस, बा र श्रीमती नेकपा, म स्वतन्त्र

0 30

पछिल्लो तीन/चार दिनमा राष्ट्रिय बहसको विषय नै बन्यो एउटा गीत । पशुपति शर्माले गाएको सो गीतलाई लिएर एकाएक उत्पन्न तरंग अझै मत्थर भइसकेको छैन ।‘लुट कान्छा लुट..’ बोलको गीत युट्युबमा अपलोड गरेको दुई दिनपछि शर्माले हटाएका थिए । त्यसपछि सत्तारुढ दलका कार्यकर्ताको दबाव र धम्कीका कारण गीत हटाउन वाध्य भएको भनेर सामाजिक सञ्जालमा व्यापक चर्चा भयो । गीतको पक्ष र विपक्षमा जनता बाँडिए ।शर्माले शब्दहरु परिमार्जित गरेर फेरि राख्छु भनेका थिए । उनलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत जस्ताको त्यस्तै फेरि अपलोड गर्न आग्रह गरेको थियो । तर, अब उनी यो गीत फेरि युट्युबमा अपलोड गर्ने मनस्थितिमा छैनन् ।शर्माले आफूले कसैको चित्त दुखाउन नचाहेको भन्दै गीत अपलोड नगर्ने मनसाय बनाएको बताए । उनले भने, ‘मेरो गीतले दिन खोजेको सन्देश सबैकहाँ पुगिसकेको छ, अब युट्युबमा फेरि हालिरहनुपर्छ भन्ने लागेको छैन ।’

प्रस्तुत छ गायक शर्मासँगको कुराकानी–
‘लुट्न सके लुट.. गीत के उद्देश्यले कसरी सिर्जना गर्नुभयो ?
म यो गीत सिर्जना गरेको होइन, संकलन गरेको भन्न रुचाउँछु । म बन्द कोठाभित्र बसेर गीत रच्दिनँ । कार्यक्रमका सिलसिलामा धेरै ठाउँमा गइन्छ । धेरै मानिसहरुका कुरा सुनिन्छ । देशका बारेमा बुढापाकादेखि युवाले गर्ने कुराहरु लगभग निराशावादी हुन्छन् । बुढापाकाहरु पनि नेताहरुले देश बिगारे भन्छन् । युवाहरु देशमा बसेर केही गर्न सकिएन, सिस्टम भएन भन्छन् । हजुरबा पुस्तादेखि हाम्रो पुस्तासम्म कुनै सुधार छैन ।
म कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छु किनभने कलाकार सबैको साझा हो । परिवारको कुरा गर्ने हो भने मेरी श्रीमती नेकपाका समर्थक हुन् । बुवा पनि नेकपा । उहाँ त झण्डै नेकपाबाट वडा अध्यक्षमा उठ्नुभएको थियो । आमाचाहिँ कांग्रेस ।
सञ्चारमाध्यम हेर्दा पनि प्रायः नकारात्मक समाचारहरु नै आइरहेका हुन्छन् । खासगरी भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको छ । यीनै कुराहरुलाई संकलन गरेर मैले गीतको रुप दिएको हुँ । यति राम्रो सुन्दर देशलाई भ्रष्टाचारले थिलथिलो पारेको देख्दा संगीतको माध्यमले केही सन्देश दिनुपर्छ भन्ने लागेर गीत बनाएँ ।

तर, गीतले त गलत सन्देश दियो नि होइन ?
यो त बुझाइमा भर पर्छ । गीतका शब्दहरुलाई कसले ग्रहण गर्छ भन्ने हो । शब्दमा लुट कान्छा भए पनि यो भ्रष्टाचारविरोधी गीत हो । व्यंग्यात्मक गीत भएकाले शाब्दिक अर्थमा जानु भएन ।

सबैले व्यंग्यका रुपमा नबुझ्न सक्छन् । उनीहरुले गीतलाई सीधा अर्थमा बुझ्न पनि त सक्छन् नि ?
हामीले म्युजिक भिडियोमा अगाडि नै लेखेका छौं कि यो व्यंग्यात्मक गीत हो । गीतको व्यंग्यलाई बुझौं, भ्रष्टाचारीलाई बहिष्कार गरौं भनिएको छ । नेपालमा व्यंग्यात्मक कुरा आमजनताले बुझ्दैनन् भन्ने म मान्दिनँ । जनता सचेत छन् । गाईजात्रादेखि प्रहसनहरुमा व्यंग्य गरिएका हुन्छन् । यो पहिलेदेखि नै चली आएको छ । मैले मात्रै पहिलोपटक व्यंग्य गरेको होइन ।

यो गीत लेखिरहँदा र रेकर्ड गरिरहँदा यति ठूलो विवाद होला भन्ने पूर्वानुमान थियो ?
पटक्कै थिएन । भ्रष्टाचारीलाई चोट पर्ला, अरुबाट स्यावासी पाउँला भन्ने सोचेको थिएँ । स्याबासी पाएको पनि छु । ९९ प्रतिशतले राम्रो भन्नुभएको छ । १ प्रतिशतले विरोध गर्नुभएको छ । उहाँहरुको पनि आत्माले त ठीकै भनेको होला, खाली राजनीतिक कारणले आलोचना गर्नुभएको हुनसक्छ । वा, एकाध शब्द चित्त नबुझेको हुन सक्छ ।

अहिले तपाईंको समर्थनमा उर्लेको जनलहर हेर्दा हतारमा गीत डिलिट गरेर बेठीक गरेछु भन्ने लाग्छ ?
म आफ्नो मनले जे भन्छ, त्यो गर्छु । आफ्नो मनले डिलिट गर भन्यो, गरेँ । सबैको चित्त बुझाउनु कलाकारको दायित्व हो । मैले दुई शब्द फेर्दैमा उहाँहरुको आत्मसम्मान फर्किन्छ भने भने ठीकै छ भन्ने सोचेँ । म एकदम सोझो व्यक्ति हुँ । सकभर कसैको चित्त दुखाउन चाहन्न ।

तर, नेकपाका कार्यकर्ताको धम्की र दबावका कारण गीत हटाउन वाध्य हुनुभयो भन्ने चर्चा छ नि ?
मलाई युवा संघबाट एउटा फोन आएको थियो । उहाँले गीतका केही शब्दहरुमा असन्तुष्टि जनाउनुभयो । त्यसपछि विज्ञप्ति पनि आयो । त्यसमा अलिकति धम्कीको भाषा पनि थियो ।तर, त्यही विज्ञप्तिबाट डराएर, आत्तिएर गीत हटाएको होइन । यदि मैले एकाध शब्दहरु मिलाउँदा उहाँहरु खुशी हुनुहुन्छ भने किन नमिलाउने भन्ने सोचेँ । केही शब्द यताउता गर्दैमा गीतको मर्म मेटिने होइन । त्यही सोचेर हटाएको हुँ ।

तपाईंलाई फोन गर्ने व्यक्ति को हुनुहुन्थ्यो ?
व्यक्ति जो भए पनि युवा संघको भनेपछि सत्तारुढ दलको भातृसंगठन भएकाले मैले त्यसलाई गम्भीर रुपमा लिएँ ।

गीतमा आपत्ति जनाएर अरु पनि फोन आए कि त्यही एउटा हो ?
त्यो एउटा मात्रै हो । अरु त सबैले गीतको प्रशंसा गर्नुभएको थियो । फेसबुक, युट्युबमा राम्रा प्रतिक्रियाहरु आइरहेका थिए ।

सरकारी तहबाट चाहिँ गीतलाई लिएर कुनै आपत्ति, प्रश्न केही आयो कि आएन ?
अहँ छैन । नेताहरुबीच गीतको विषयमा छलफल भएकोसम्म सुनेको हुँ ।

गीतका केही शब्द परिमार्जन गरेर फेरि हाल्छु भन्नुभएको थियो, कहिले हाल्नुहुन्छ ?
यसमा म अझै सोचिरहेको छु । तर, सम्भवतः अब यो गीत फेरि हाल्दिनँ होला ।पुरस्कार दिन खोज्ने सांसदलाई धन्यवाद दिन चाहन्छु । त्यो पैसाचाहिँ एकसरो लाउन, पेटभरी खान नपाएका बाबुनानी र वृद्धवृद्धाहरुलाई दिँदा राम्रो हुन्छ ।

किन नहाल्ने ?
गीत बजारमा गइसक्यो । सबैलाई थाहा पनि भइसक्यो । सुन्नुपर्नेले सुनिसके । अरु च्यानलहरुले हालेका छन् । अब मैले हाल्ने भनेको उही भ्यूअर्स र सब्सक्राइबका लागि हो । मलाई त्यसको लोभ छैन । बरु अर्को सिर्जनातिर लागिरहेको छु ।गीत नहाल्दा अलिकति आर्थिक घाटा त होला । तर, गीतले पाउनुपर्ने माया पाइसकेको छ । त्यसैले कुनै ग्लानी हुनेछैन । सबैको मनमा खट्केको आवाजलाई व्यक्त गरेको रहेछु भन्नेमा नै आत्मसन्तुष्टि छ ।

तपाईंले हटाए पनि धेरै च्यानलहरुले तपाईंको गीत कपी गरेर हालेका छन्, उनीहरुलाई के गर्नुहुन्छ ?
मैले जिम्मेवारीपूर्वक आफ्नो च्यानलबाट हटाएँ । अब अरु च्यानलहरुले हालिरहेका छन् । यसमा म केही गर्न सक्दिनँ । गरेर अर्थ पनि छैन । मेरो गीतबाट अरुले पैसा कमाए भनेर म आफ्नो भाग माग्न पनि जान्न ।

लोकदोहोरी प्रतिष्ठानले त गीत जस्ताको तस्तै हाल्न आग्रह गरेको थियो नि ?
हो । मसमेत सहभागी बैठकले गरेको निर्णय हो । तर, अन्ततः हाल्ने/नहाल्ने मेरो हातमा छ । अझै पनि सोचिरहेको छु । अन्तिम निर्णय लिइसकेको छैन । अग्रजहरुको सल्लाह सुझावलाई समेत मनन गर्नेर निर्णय लिनेछु ।

स्टेज कार्यक्रमहरुमा दर्शकले यो गीतको डिमान्ड गरे भने के गर्नुहुन्छ ?
पक्कै गाउँछु । नगाउनुपर्ने कारण छैन ।

जस्ताको तस्तै गाउनुहुन्छ कि शब्दहरु मिलाएर ?
दुई–तीन वटा शब्दहरु संशोधन गरेर गाउँछु होला । फेरि स्टेजमा गाउँदा प्रायः गीत जस्ताको त्यस्तै गाइँदैन पनि ।

भनेपछि यमराज र कुकुर जस्ता शब्द प्रयोग गर्नुहुन्न ?
यमराज भनेको भन्दा पनि त्यसको भिडियोमा नेकपाको झण्डा प्रयोग गरिएको विषयमा उहाँहरुको आपत्ति हो । यमराज भनेर मैले अहिलेका प्रधानमन्त्रीलाई ईंगित गर्न खोजेको होइन । मैले हजुरबाको पालादेखिको कुरा गरेको हुँ ।यति राम्रो स्वर्गजस्तो देशमा इन्द्रको शासन कहिल्यै भएन भन्न खोजेको मात्रै हुँ । यो शब्दमा कसैको आपत्ति भएजस्तो पनि लाग्दैन । कुकुर भन्ने शब्द पनि लाक्षणिक हो । बरु राष्ट्रपतिलाई मुछिएको भनेर गुनासोहरु छन्, त्यसमा केही मिलाउनुपर्ने हुन सक्छ ।

यो गीतको रेकर्डिङ र म्युजिक भिडयोमा कति खर्च गर्नुभएको थियो ?
खर्चको यकीन हिसाब आएको छैन । पैसा तिर्न पनि बाँकी नै छ । पोखरामा सुटिङ गरेको हुँ । केही दिनमा हिसाब निस्किन्छ ।

तपाईंको गीतलाई विपक्षी पार्टीहरुले राजनीतिकरण गर्न खोजेजस्तो लागेको छैन ?
म एउटा स्वतन्त्र कलाकार हुँ । कहिल्यै कुनै पार्टीसँग निकट भइनँ । गीत सिर्जना गर्दा पनि कुनै पार्टीलाई लक्षित गरेको होइन । यो गीतलाई लिएर जस–जसले मेरो समर्थन गर्नुभएको छ, उहाँहरुप्रति आभारी छु । यदि कसैले राजनीतिक हिसाबले यसलाई उछाल्न खोज्नुभएको हो भने त्यो म जान्दिनँ ।

कांग्रेसका एक सांसदले त तपाईंलाई २५ हजार पुरस्कार दिने घोषणासमेत गर्नुभएको छ । यो रकम चाहिँ स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न ?
मैले कुनै पुरस्कार वा अवार्डको आशाले गीत बनाएको होइन । पुरस्कार दिन खोज्ने सांसदलाई धन्यवाद दिन चाहन्छु । त्यो पैसाचाहिँ एकसरो लाउन, पेटभरी खान नपाएका बाबुनानी र वृद्धवृद्धाहरुलाई दिँदा राम्रो हुन्छ । मेरो त हौसला बढाइदिए पुग्छ । जुन उद्देश्यले गीत सिर्जना गरेको छु, त्यो पूरा भए पुग्छ । अरु आशा केही राखेको छैन । मलाई पुरस्कार चाहिँदैन ।

भनेपछि २५ हजार लिनुहुन्न ?
तपाईंले मेरो भाव बुझ्नुभएन । मैले पैसाका लागि, पुरस्कारका लागि गाएको होइन भनेपछि आफैं बुझ्नुस ।

अब कस्तो गीत सिर्जना गर्दै हुनुहुन्छ ? जनचेतनामुलक कि मनोरञ्जनात्मक ?
चुनावमा धेरै कलाकारले पार्टीका कार्यक्रममा गीत गाउनुभयो । मलाई पनि धेरै पार्टीबाट प्रस्ताव आएको थियो । तर, कतै गइनँ । बरु दुई महिना घरमै बसेँ । मेरा मामा मेयरमा उठ्नुभएको थियो । गीत गाएर उहाँलाई भोट माग्न गइनँ ।सधैं एउटैखालको गीत गायो भने पनि खासै राम्रो नहोला ।

तर, तपाईंको आगामी गीतबाट फेरि यस्तै आगो दन्किनुपर्छ भन्ने धेरैले चाहेका होलान् नि ? त्यो प्रेसर कति छ ?
मेरो फ्यान भनेका ३० देखि ७० वर्षका छन् । सबैलाई सोचेर गाउनुपर्छ । मैले तीजका गीतदेखि रोइलासम्म गाएको छु । देशको मौलिकता झल्किने गीतहरु गाएको छु । हरेक वर्ष एउटा व्यंग्य गीत गर्छु भन्ने हो ।अर्को कुरा, सिर्जना भनेको पहिल्यै यस्तो गर्छु भनेर हुँदैन । यो त अचानक प्रष्फुटन हुने हो । आफ्नो वरिपरिका घटनाक्रमहरुले प्रेरित गर्ने हो ।

साँच्ची, तपाईंलाई त गत वर्ष युवासंघले आफ्नो कार्यक्रममा बोलाएर सम्मान गरेको रहेछ होइन ?
म उहाँहरुको एउटा कार्यक्रममा गएको हुँ । सम्मान गर्नुभएको चाहिँ याद भएन ।

तर, यो गीत गाएपछि युवा संघका अध्यक्षले तपाईंलाई कांग्रेसी भन्नुभएको छ । साँचो हो ?
उहाँले के आधारमा भन्नुभएको हो, मैले बुझेको छैन । म अहिलेसम्म कहिल्यै कुनै पार्टीमा आवद्ध भइनँ । यतिसम्म कि कुनै पार्टीको कार्यक्रममा बोलाउँदा समेत जान्न ।चुनावमा धेरै कलाकारले पार्टीका कार्यक्रममा गीत गाउनुभयो । मलाई पनि धेरै पार्टीबाट प्रस्ताव आएको थियो । तर, कतै गइनँ । बरु दुई महिना घरमै बसेँ । मेरा मामा मेयरमा उठ्नुभएको थियो । गीत गाएर उहाँलाई भोट माग्न गइनँ ।

तपाईंको कुनै राजनीतिक दलप्रति समर्थन वा सहानुभूति त होला नि ? जुन हरेक नागरिकको हुन्छ ।
म कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छु किनभने कलाकार सबैको साझा हो । परिवारको कुरा गर्ने हो भने मेरी श्रीमती नेकपाका समर्थक हुन् । बुवा पनि नेकपा । उहाँ त झण्डै नेकपाबाट वडा अध्यक्षमा उठ्नुभएको थियो । आमाचाहिँ कांग्रेस । साइँलो अंकल कांग्रेस, माइलो अंकल राप्रपा ।

चुनावमा भोट त हाल्नुहुन्छ नि ?
मैले पार्टी हेरिनँ, राम्रो नेता छानेर हालेँ । हरेक चुनावमा व्यक्ति हेरेर भोट हाल्छु । एकछापे कहिल्यै हालेको छैन । कुनै दलप्रति आशक्ति नभए पनि नागरिकको अधिकार प्रयोग गर्नुपर्छ भनेर भोट हाल्छु ।

अहिलेको सरकारको विषयमा तपाईंको मूल्यांकन के हो ? के देशको अवस्था गीतमा वर्णन गरिएजस्तो भयानकै छ ?
मैले गीतमा अहिलेको कुरै गरेको होइन । ३५/३६ वर्षको भएँ । मैले बुझेदेखि देश र जनताका लागि निस्वार्थ भावले काम गर्ने कोही पनि भेटेको छैन ।

सबै एउटै ड्याङका … हुन् त त्यसो भए ?
गीतले भनेकै त्यही हो त । गीतको व्यंग्य सबै पार्टी र नेताहरुलाई हो ।

यो तीन–चार दिन कसरी बित्यो, कत्तिको तनावमा रहनुपर्‍यो ?
म थकित र व्यस्त थिएँ । फोन आएको दिन बुटवलमा थिएँ । त्यहीँबाट गीत डिलिट गरेको हुँ । गीत हटाएपछि जुन प्रतिक्रिया जन्मियो, सामाजिक सञ्जालमा, त्यसको कल्पना गरेको थिइनँ ।तनावभन्दा पनि एक किसिमको व्यग्रता भयो । फोन उठाएरै साध्य नभएपछि अफ गरेर राख्नुपरेको छ ।

यति ठूलो जनसमर्थन पाउनुभयो, के भन्न चाहनुहुन्छ आफ्ना शुभचिन्तकलाई ?
सबैप्रति आभार र सम्मान छ । देश राम्रो होस भन्ने सबैको चाहना हो । देश राम्रो भयो भने हामी सबैले छाती फुकाएर हिँड्न सक्छौं । मलाई गाली गर्नेहरुप्रति पनि कुनै दुखेसो छैन । आलोचनाले पनि कलाकारलाई सुधार्न सहयोग गर्छ ।भोलिका दिनमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने भयो । म हरेक कुरालाई नकारात्मक रुपमा लिन्न । आलोचनाहरुलाई पनि सकारात्मक रुपमै लिएको छु । कसैले मलाई कुकुर भन्यो भने तँ पनि कुकुर भन्नेतिर लाग्दिनँ ।
(साभार:-अन्लाइन खबर डटकमबाट)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.