माडीका मेयर ठाकुरप्रसाद ढकाल भन्छन्–जनताको आँसुको खिल्ली उडाउने काम भएको छ

0 38

साउन १२,  चितवन राष्ट्रिय निकुञ्जले मध्यबर्खामा घरमा आगो लगाएर विपन्न चेपाङको उठिवास लगाएको समाचार अहिले राष्ट्रिय बहस बनेको छ । तर, वनमन्त्रीले घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो भनेर संसदीय समितिलाई जानकारी दिनुभएको छ, तपाईंबाट नै त्यस्तै विवरण आएको उहाँको भनाइ छ, खासमा तपाईंले के विवरण दिनुभएको थियो ?

मन्त्रीज्यूलाई मैले किटान गरेर नै भनेको थिएँ । मचानमा होइन, चेपाङको घरमा आगजनी भएको हो । उहाँले नै बरु घर होइन रे नि ? कटेरोमा हो रे नि भनेर सोध्नुभएको थियो । तर, मैले त्यस्तो होइन मन्त्रीज्यू, निकुञ्जले घर नै जलाएको हो भनेर दोहो¥याएको थिएँ । दुई घरमा आगो लगाइएको हो, अरू घर हात्ती लगाएर भत्काइएको हो । मैले मन्त्रीज्यूलाई दिएको विवरण यही हो । उहाँसँग पटक–पटक फोन भएको होइन, एकपटक आठ मिनेट कुरा भएको हो । जनताको घरमा आगो लगाउने जिम्मेवार को–को हुन्, तिनलाई कारबाही गर्नुपर्छ भनेर माग पनि गरेको थिएँ

मन्त्रीले त जुन घर जलेका छन्, तिनको तस्बिर पनि सत्य होइन भन्नुभएको छ नि ?

उहाँले कुन तस्बिरको कुरा गर्नुभयो, मलाई थाहा भएन । तर, मान्छेका घर जलेका छन्, घरको खरानीअगाडि उभिएका गरिब जनताको वेदना मैले देखेको छु, त्यो तस्बिर नयाँ पत्रिकाले पीडितको अन्तर्वार्तासहित छापेको छ । मैले पनि हेरेको छु । तपाईंले जे देख्नु र लेख्नुभएको छ, त्यो सत्य हो । अन्य सामाजिक सञ्जालमा कहाँका तस्बिर आए, हामीलाई थाहा भएन । तर, जनताका घर जलेका छन्, मान्छे रोएका छन् ।

तर, वन मन्त्रालयको छानबिन टोलीले घर जलेका होइनन् भनेर मन्त्रीलाई प्रारम्भिक जानकारी दिएको भन्ने उहाँको भनाइ छ नि ?

मन्त्रालयले टोली पठाएको थियो । तर, टोलीले नै गलत रिपोर्टिङ ग¥यो । त्यसैका आधारमा मन्त्रीले बोल्नुभयो । तर, त्यो भनाइले यहाँका जनताको आँसुको खिल्ली उडाउने काम भएको छ । यसबारे संसदीय छानबिन समिति गठन हुनुपर्छ । मेरो माग यही छ ।

तर, चितवनकै सांसद कृष्णभक्त पोखरेलले भने वनमन्त्रीले झुटो बोलेको दाबी गर्नुभएको छ, तपाईं र उहाँबीच पनि संवाद भएको थियो भन्ने उहाँको भनाइ छ, तपाईंले उहाँलाई के जानकारी दिनुभएको थियो ?

मैले मन्त्री र सांसदलाई दिएको जानकारी एउटै हो । सांसद कृष्णभक्त पोखरेल ५ साउनको बिहान चितवन राष्ट्रिय निकुञ्जको कार्यालय (कसरा) आउनुभएको थियो । मैले जनताका घर हात्ती लगाएर भत्काउने र आगो लगाएर जलाउने काम भयो भनेर जानकारी दिएको हुँ ।

चेपाङ समुदायलाई जंगलबाट निकालेर बाहिर ल्याउने र घर बनाइदिने सरकारी योजना थियो, त्यसमा कसले अवरोध गरेको छ ?

चेपाङहरू खासमा धादिङ, मकवानपुरलगायत जिल्लाबाट आएका हुन् । कुसुमखोला क्षेत्रमा ०५३ देखि नै एक सय ६० परिवार बसेका थिए । तर, ०७४ मा यो क्षेत्र डुबानमा परेपछि अधिकांश परिवार बस्ती छोडेर माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । ११ घर परिवार भने अहिले पनि कुुसुमखोलामै बसिरहेका छन् ।

कुसुमखोलाबाट विस्थापित भएका र अहिले पनि त्यही बसिरहेका विपन्नलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा प्रदेश सरकार, नगरपालिका र दाताको सहयोगमा ९० वटा घर बनाउन लागेको थियो । तर, त्यसमा पनि निकुञ्ज नै बाधक भयो । माडी–९ को राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्ता हाल्न दिएन । माडी–७ को देवेन्द्रपुरमा ५० घर बनाउन पोल हाल्दै गर्दा निकुञ्जले रोक्यो । अब नयाँ घर बनाउन रोक्छ, पुराना घरमा आगो लगाउँछ । हाम्रो संघर्ष जारी छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.