विभिन्न १५ जिल्लामा भारी वर्षा जारि : चार दिनसम्म सतर्क रहन आह्वान

0 50

साउन १२, दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।

ती क्षेत्रमा भारी वर्षापछि स-साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।

आजदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको तथा तथा अरब‍ सागरबाटसमेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिएकाले ३/४ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै प्रदेश नम्बर १ र २ का थोरै स्थानमा पनि भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चार दिन देशका विभिन्न नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.