बिदेशमा सिकेको सिप प्रयोग गरी स्वदेशमै ब्यबसायमा रमाउदै उदाहरणीय दम्पति

0 15

अष्ट्रेलियाबाट फर्किएको एक दम्पतीले त्यहाँ सिकेको सीपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय शुरु गरेका छन् । भरतपुर महानगरपालिका–१० बाइपास सडकको भरतपुर आँखा अस्पतालको आडैमा उनीहरुले ग्लोबल कफीहाउस सञ्चालनमा ल्याएका हुन्।


श्रीमान् प्रदीपको सहयोगमा आश्मा तिमिल्सिनाले कफीसप सञ्चालन गका छन् । कफीसपमा ग्राहकलाई अन्तर्राष्ट्रिय स्वादको कफीसँगै सीप सिक्न चाहनेका लागि यो दम्पतीले तालिम पनि दिँदै आएका छन् ।

सन् २००८ मा अष्ट्रेलियाको मेलबन पुगेको यो दम्पती त्यहाँको पाँच वर्ष बसाइपछि सिड्नी पुग्यो । पढाइ सकेर स्थायी बसोबासका लागि अष्ट्रेलिया सरकारको इजाजत पाउनै लाग्दा सिड्नीको पाँचवर्षे बसाइ सकेर सो जोडी सीपसँगै नेपाल फर्कियो ।
अष्ट्रेलियामै हस्पिटालिटी व्यवस्थापनमा स्नातक गरेकी आश्मा कफी निर्माणमा निकै सिपालु छन् । उनले भनिन्, “सिड्नीमा बस्दै गर्दा यो सीप नेपालमा प्रयोग गर्ने सोच हामीमा आयो र यहाँ फर्कियौँ ।” दश वर्ष बाहिर हुँदा नेपालमा पनि धेरै परिवर्तन भइसकेको छ ।
यो परिवर्तनसँग जुध्दै स्वादेशमै सङ्घर्ष गर्ने अठोटका साथ आफूहरु फर्किएकी आश्माको भनाइ छ । विदेशमा जस्तै यहाँ पनि कफी पिउनेको सङ्ख्या बढेको उनले बताइन्। आफ्नै घरको पहिलोतलामा रु १५ लाख हाराहारी खर्च गरी यो दम्पतीले चिटिक्कको कफीसप तयार गरेको छ ।

अष्ट्रेलियामा चलेका कफीका स्वाद मात्र होइन, कफीसँगै अध्ययनका लागि पुस्तक पनि राखिएका छन् ।
कफीसपमा हटकफी, कोल्डकफीसँगै कफीबाट बन्ने विभिन्न परिकारसँगै मिल्कसेक पनि उपलव्ध छन् ।


छिट्टै भारतको १२० वर्ष पुरानो दूधकोला पनि बिक्री गर्ने लक्ष्य उक्त दम्पतीले लिएको छ । विभिन्न लेखकका पुस्तक पढ्दै कफी पारखीहरु कफीसपमा रमाएको देखिन्छ । आश्मा भन्छिन्, “कफीसपलाई बुक क्याफेका रुपमा चिनाउने मेरो रहर छ ।”
प्रदीपका अनुसार कफीसपमा २० दिनको कफी तालिम र १५ दिनको हस्पिटालिटीसम्बन्धी तालिम पनि दिइँदै आएको छ । हालसम्म १७ जनाले कफी बनाउने तालिम र तीनैमध्येका १२ जनाले हस्पिटालिटी तालिम पनि लिएका छन् ।


हस्पिटालिटी तालिममा वेटर र वेट्रेस तालिम पर्दछन् । तालिम लिने अधिकांश विदेश जाने भएका प्रदीपले जानकारी दिए। तालिम लिन आउनेलाई यो दम्पतीले विदेशको सङ्घर्ष र आवश्यक सीपका बारेमा पनि बुझाउँदै आएको छ । कफीसपमा अन्यत्र नपाइने स्वादका कफीसँगै पेय पदार्थ बिक्री गर्ने सोच दम्पतीसँग छ ।
आश्माले भनिन्, “अर्काको देशमा सीप सिक्ने हो, काम आफ्नै देशमा गर्नुपर्छ ।” आठ वर्षकी छोरीलाई शिक्षादिक्षा दिँदै स्वदेशमै व्यवसायमा जम्ने अठोट यो दम्पतीले लिएको छ । आश्माले थपे, “मेहेनत गर्‍यो भने अष्ट्रेलियाको भन्दा बढी कमाइ हामी यही गर्न सक्छौँ भन्ने हाम्रो अठोट छ ।” भर्खरै व्यवसाय शुरु गरेकाले काम गर्ने सहयोगी छैनन् । गर्नुपर्ने सबै काम दम्पतीले आफैँ गरेका छन् । रासस

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.