मेयर रेनु दाहालद्धारा पाँच किलोमिटर लामो पात्लेबास–चौकीडाँडा सडकको उद्घाटन

0 250

भरतपुर महानगरपालिका–२९ को विकट पहाडी गाउँ जाने पात्लेबास–चौकीडाँडा सडकको आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सडकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले सडकले विकट गाउँका बासिन्दालाई सदरमुकाम भरतपुर सहित आफ्नै वडाको सेवा लिन सहज भएको बताउनुभयो । यस सडकले सो क्षेत्रका ८०० व्यक्ति प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । कविलासको चौकीडाँडामा पर्यटकीय दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गर्ने बताउनुभयो । महानगर क्षेत्रको विकट पहाडी गाउँमा खानेपानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।


सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष मानबहादुर मगर, उपभोक्ता समितिका सचिव सुजन शर्मा लगायतले बोल्नुभएको थियो । शर्माले सडक निर्माण गर्न महानगरबाट रु २० लाख र स्थानीय जनसमुदाय एवं जग्गा धनीसँग रु ३१ लाख १८ हजार सङ्कलन गरी सडक निर्माण गरिएको बताउनुभयो ।

सडक पाँच किलोमिटर लामो रहेको छ । नारायणगढ –मुग्लिन सडकखण्डबाट चौकीडाँडा सात किलोमिटर दुरीमा पर्दछ । यसअघि नै दुई किलोमिटर सडक बनिसकेकाले बाँकी पाँच किलोमिटर सडक निर्माण गरिएको शर्माले जानकारी दिनुभयो । सो क्षेत्रमा वर्षात्को समयमा सडक अवरोध नहोस् भन्नका लागि स्काभेटर तयारी हालतमा राखिने उहाँले बताउनुभयो ।

सडक, खानेपानी, विद्युत् आपूर्तिसँगै सो क्षेत्रमा विकासले गति लिन थालेको छ । रासस

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.