के प्रदीप र जसिताबीच खटपट भएको हो ?

0 13

कार्तिक ०५, सेलिब्रेटीको प्रेम र ब्रेकअपको खबर आउनु आजभोली सामान्यजस्तै भइसकेको छ । प्रायः हप्तैपिच्छे नेपाली कलाकारहरुको अफेयरको खबरले नेपाली मिडिया तात्ने गरेको छ । कलाकारको ब्रेकअपका खबरहरु पनि उस्तै बाक्लै आइरहन्छ । अहिले अभिनेत्री वर्षा सिवाकोटीको प्रेम सम्बन्धको चर्चाले फिल्मवृत तातेको छ । अमेरिका निवासी सविनजंग थापाको प्रेममा उनी चुर्लुम्म डुबेकी छन् ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ पनि प्रेम सम्बन्धको चर्चाले केही समय राम्रै लाइमलाइटमा रहेका थिए । फिल्म ‘लिलिबिली’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको बताइन्छ । तर, पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ असफल भएपछि उनीहरुको प्रेम सम्बन्धमा पूर्णविराम लागेको चर्चा छ । हुनत, फिल्म रिलिजको बेला प्रेम र रिलिजपछि कलाकारको ब्रेकअपको खबर आउनु नौलो कुरा होइन ।

‘लभ स्टेशन’ प्रदर्शन भएपछि जसिता यूके फर्किइन् । त्यसपछि उनको प्रदीपसँग न कुराकानी न त भेट नै भएको छ । गोप्य स्रोतका अनुसार, प्रदीपले जसितालाई निर्देशक रेनशा वान्तवा राईको फिल्म ‘आइ एम ट्वान्टिवान’ नगर्न आग्रह गरेका थिए । तर, जसिताले फिल्म गर्ने निर्णय लिइन् । यसपछि उनीहरुको सम्बन्धमा फाटो आएको बताइन्छ । केही महिनायता जसिता यो फिल्मको वर्कसपका लागि नेपालमा छिन् ।

तर, नेपाल आएपछि उनको प्रदीपसँग एकपटक पनि भेट र कुराकानी भएको छैन । प्रदीप र जसिताको सम्बन्धमा दरार आउनुको पछाडि अभिनेता धिरज मगरलाई पनि कारण मानिएको छ । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि जसिता र धिरज एकअर्काको प्रेममा रहेको चर्चा छ । अब, ‘आइ एम ट्वान्टिवान’ मा दुईको जोडी बाँधिएको छ । जसकारण, जसिता अहिले धिरजसँग निकै नजिक छन् । र, प्रदीपसँग दूरी बढेको छ ।

फिल्म ‘लिलिबिली’ मा काम गरेपछि दर्शकले प्रदीप र जसिताको जोडीलाई निकै रुचाएका थिए । पुनः दुईको जोडीलाई स्क्रिनमा हेर्ने दर्शकको ठूलो चाहना थियो । ‘लभ स्टेशन’ बाट त्यो पूरा पनि भयो । तर, अब यो जोडी फेरि पर्दामा फर्किने सम्भावना अत्यन्त कम छ । प्रेम सम्बन्धमा आएको खटपटले उनीहरु पुनः फिल्ममा सहकार्य गर्ने मनस्थितिमा छैनन् । यद्यपि, उनीहरुले कहिल्यै आफूहरु प्रेम सम्बन्ध रहेको स्वीकार भने गरेका थिएनन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.