सारा विश्वलाई चकित पार्दै नेपाली बैज्ञानिक : के काम गरे त त्यस्तो ?

0 27

उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’

जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो । ‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ प्रतिस्पर्धा जितेपछि पौडेलले भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ ।’

लसएन्जलसस्थित स्पेस एक्स भन्ने हाइपरलुप कम्पनीले गरेको विश्वव्यापी प्रदर्शनमा पौडेल सम्मिलित समूहले बनाएको उक्त पोड प्रतिघण्टा ४ सय ५७ किलोमिटर गतिले कुदेको थियो । प्रतिघण्टा हजार किमिसम्म कुद्न सक्ने अनुमान गरिएको हाइपरलुप परीक्षणकै चरणमा छ ।

‘मापनअनुसार यो हालसम्मकै उच्च गतिको आवागमनको साधन हुनेछ,’ पौडेलले भने । सुरुङजस्तो सिधा ट्युबमा तीव्र गतिले कुद्ने यन्त्र हो, हाइपरलुप । जमिनभन्दा माथि र हावाको सम्पर्कभन्दा बाहिर हुने भएकाले यो सुरक्षित र ज्यादा गतिको यातायात साधन सावित भएको छ । ‘बस वा रेललाई हावाको चाप अनि जमिनको घर्षणले गर्दा ज्यादै छिटो कुदाउन सकिन्नँ,’ पौडेल भन्छन्, ‘तर, हाइपरलुपमा चाहिँ त्यो दुवै नहुने हुनाले अति तीव्र गतिमा कुद्न सक्छ, जो प्रमाणित भइसकेको छ ।

सन् २०१२ मा अमेरिकी वैज्ञानिक इलन मस्कले सामान्य अवस्थाका रेलहरूभन्दा दसौं गुणा बढी कुद्ने यातायात साधन बनाउन सम्भव भएको अवधारणा सार्वजनिक गरे, जसलाई उनले नाम दिए हाइपरलुप । ‘यो नयाँ अवधारणा भएकाले उनले खुला रूपले लगानीकर्तालाई यसमा आकर्षित गर्न पेटेन्ट राइट खुला गरेर थप अनुसन्धानका लागि बाटो खोलिदिए,’ उनले भने, ‘अनि आफैंले पनि एक कम्पनी खडा गरेर यसको विकासमा प्रशस्त समय र पैसा खर्च गर्न थाले ।’

तीन वर्षदेखि मस्कले संसारभरका विद्यार्थीलाई छिटो कुद्ने हाइपरलुपे यन्त्र बनाउने प्रतिस्पर्धामा सामेल गराउन थालेका थिए । सुरुवाती चरणमा विभिन्न विश्वविद्यालयबाट इन्जिनिरिङ पढ्ने २ सयवटा समूहले प्रतिस्पर्धामा भाग लिन आवेदन दिएको थियो । ‘त्यसमध्ये २१ वटा छनोटमा परे,’ पौडेल भन्छन्, ‘ती एक्काइसमध्येमा पनि हामीले बनाएको पोडले सबैलाई जितेको हो ।’ अझै पनि विकासकै चरणमा रहेको हाइपरलुप प्रयोगमा आएपछि यातायातको क्षेत्रमा क्रान्ति आउने उनले बताए ।

जन्मथलो विराटनगरबाट सन् २०१५ मा म्युनिखमा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्न गएका उनी हाइपरलुप बनाउने प्रतिस्पर्धामा सहभागी हुन विश्वविद्यालयबाट गत वर्ष छानिएका थिए । भारतको अन्ना युनिभर्सिटी चेन्नईबाट मेकानिकल इन्जिनियरिङमा सन् २०१४ मा स्नातक गरेपछि थप अध्ययनका लागि जर्मनी पुगेका पौडेलले आफू नेपालमा हुँदा मोटरहरू निर्माण गर्ने स्वअनुसन्धानमा लाग्ने गरेको स्मरण गरे । ‘मिहिनेतले मलाई हाइपरलुपको काम गर्ने ठाउँसम्म ल्याइपुर्‍याएको छ,’ उनले भने, ‘अब आउने दिनमा पनि यस्तै खालको नवीन खोज र आविष्कारमा समय लगाउनेछु ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.