अर्को वर्षको फूलपातीमा मह जोडीको फिल्म चल्ने पक्का

0 8

असोज १७, फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । फिल्म कमजोर नै भए पनि दशैं विदामा लगानी उठाउन गाह्रो हुँदैन । त्यसैले वर्षौदेखि नेपाली मेकरबीच दशैंमा फिल्म रिलिज गर्न ठूलो रस्साकस्सी हुने गरेको छ । यो अवस्था अर्को वर्ष पनि हुने देखिएको छ । यस वर्षको दशैंले भर्खर घर आँगनीमा पाइला टेकेको अवस्थामा निर्मातहरु भने अर्को वर्षको दशैंलाई भकाभक फिल्मको प्रदर्शन मिति घोषणा गर्न व्यस्त छन् ।

भुवन केसीको ‘एन्टी हिरो’, अशोक शर्माको ‘अल्लारे २’, निगम श्रेष्ठको ‘छड्के २’, रेनशा वान्तवा राईको ‘आइ एम ट्वान्टिवान’ र झरना थापाको ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैंमा आउने निश्चत भइसकेका छन् । यो लिस्टमा अर्को फिल्म पनि थपिएको छ । मह जोडीको अभिनय रहने अनटाइटल प्रोजेक्ट २०७७ साल कात्तिक ७ गते फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मको निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्‍यो ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । उनले यसअघि फिल्म ‘शत्रु गते’ मा बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एक्सन-कट गरेका थिए । उनी ‘जात्रा’ र ‘जात्रै जात्रा’ का निर्देशक पनि हुन् । मह जोडीले दोस्रो पटक फिचर फिल्ममा प्रदीपसँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिनमा नाम सार्वजनिक गर्ने बताइएको छ । फिल्मको कथा प्रदीप स्वयंले लेखिरहेका छन् ।

फिल्ममा मह जोडी, निर्देशक भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहनेछ । सम्भवतः फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ बाट मह जोडीले व्यापारिक सफलता हात पार्न सफल भए पनि समीक्षात्मक सफलतामा चुकेका थिए । अब दोस्रो पटक हुन लागेको मह जोडी र निर्देशक प्रदीपको जुगलबन्दी हेर्न निकै रोचक हुने देखिन्छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.