दशैँमा अहिलेसम्म ससुराली गएको छैन : राजेश हमाल

0 8

असोज १६, नेपालीहरुको महान् चाड दशैं सुरु भइसकेको छ । मीठो मसिनो खाने, राम्रो लगाउने र रमाइलो गर्ने चाडको प्रारम्भ घटस्थापनादेखि भए पनि विशेष रूपमा फूलपातिदेखि मनाउने गरिन्छ । यो भ्रातृत्व, स्नेह, मिलन, आपसी सद्भाव र खुसी बाँड्ने पर्व पनि हो । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि विदेश गएका र स्वदेशमै भएर पनि घरबाट टाढा रहेका नेपालीहरु धमाधम घर-गाउँ फर्किरहेका छन् ।

आम सर्वसाधारणलाई मात्र होइन पर्दामा देखिने कलाकारलाई पनि दशैंको रौनकले राम्रै छोपेको छ । राजधानीभन्दा बाहिर घर हुने कलाकारहरु दशैंको टिका थाप्न जन्मथलो फर्किरहेका छन् । कोही भने राजधानीमै दशैं मनाउँदैछन् । यतिबेला प्रायः कलाकारहरु किनमेलमा व्यस्त छन् । अभिनेता राजेश हमाललाई भने दशैंको छेकोमा कामको चटारो छ । एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।

फूलपातीपछि भने हमाल परिवारसँग समय विताउने सोचमा छन् । १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिन मात्र टीका लगाउने उनी यसपालीको दशैं धनकुटामा मनाउने योजनामा थिए । किनकि, उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । तर, पूर्वतिर निरन्तर परेको पानीका कारण कार्यक्रम स्थगित भएपछि यसपटकको दशैं पनि राजधानीमा हुने उनले बताए ।

मंगलबार एक कार्यक्रममा उनले आफ्नो दशैंको योजनाबारे भने- ‘अन्तिम समयमा आएर दशैं योजना परिवर्र्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजनामा थिएँ । तर, अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालीको दशैं काठमाडौंमै हुने भएको छ । दशैंको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’

उनले विवाहपछि अहिलेसम्म दशैँमा ससुराली नगएको पनि बताए । दशैंमा ससुराली जाने तयारीमा हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ठट्यौली शैलीमा भने- ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ । (लामो हाँसो) धनकुटातिर गएको भए ससुराली जान्थेँ । बिहे गरेको भर्खर-भर्खर भयो । अहिलेसम्म दशैँ र तिहारमा ससुराली गएको छैन । तर, ससुराली जाँदा रमाइलो लाग्छ । चाड पर्वमा नगए पनि अरु बेला गएको छु ।’

ससुरालीमा हुने ज्वाईंको मानमनितो र स्वागत सत्कार आफूलाई रमाइलो लाग्ने उनले बताए । केही महिना अगाडि ‘को बन्छ करोडपति ?’ टेलिभिजन कार्यक्रम सकाएका उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले बाक्लै भिडियो पनि गरिरहेका छन् । तर, हमालले फिल्मबाट दूरी बनाएका छन् । पछिल्लो रिलिज फिल्म ‘सकुन्तला’ र ‘बागमती’ असफल भएपछि उनले कुनै फिल्म साइन गरेका छैनन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.