हिन्दि फिल्म ‘वार’ लाई मल्टीप्लेक्समा सर्वाधिक सोज

‘कबड्डी ३’ को दबदबा कायमै

0 6

असोज १५, बलिउड अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफ अभिनीत फिल्म ‘वार’ नेपालमा शुक्रबार प्रदर्शन हुनुपर्ने नियम ताड्दै आजबाट प्रदर्शनमा आउँदैछ । पहिलो पटक ऋतिक र टाइगरले एकसाथ काम गरेका कारण यो फिल्मको दर्शकमा निकै प्रतिक्षा थियो, भारतसँगै नेपालमा पनि । आँखै तिरमिराउने धमाकेदार ट्रेलरपश्चात् फिल्म हेर्न दर्शकले हातको औंला भाँच्दै बसेका थिए ।

अन्ततः बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ ओपन भएको छ । बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रामक रुपमा विक्री भइरहेको छ । सम्भवतः मंगलबार साँझसम्म नेपालका अधिकांश मल्टीप्लेक्समा फिल्मको टिकट अभाव हुनेछ । अहिले नै फिल्मलाई प्राप्त प्रायः सोज हाउसफुल हुने तरखरमा छन् । फिल्मले नेपालका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ ।

नेपालको सबैभन्दा ठूलो र स्तरिय मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर छरिएका आफ्ना ९ स्टेशनमा फिल्मलाई बुधबारका लागि कूल ५२ सोज बाँडेको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले यो संख्यामा सोज छुट्याएको हो । तर, ‘वार’ ले पाएको सोज संख्या गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ भन्दा कम हो । यो फिल्मले क्यूएफएक्समा पहिलो दिन ६४ सोज पाएको थियो ।

दोस्रो हप्ताको बुधबार पनि फिल्मले २० सोज पाएको छ । यसको मतलब, ‘कबड्डी ३’ ले अझै पनि हलमा राम्रो व्यापार गरिरहेको छ । त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ क्यूएफएक्समा ९ सोजमा खुम्चिएको छ । व्यापार गतिलो नभएका कारण फिल्मको सोजमा कटौती भएको हो । अन्य मल्टीप्लेक्सहरुमा पनि ऋतिक र टाइगर स्टारर फिल्म ‘वार’ ले उच्च सोज पाएको छ ।

सिडिसी सिनेमाज, विएसआर र क्यूज सिनेमाजमा समान्तर ८/८ सोज पाएको फिल्मले बिग मुभिजमा १० सोज हात पारेको छ । त्यस्तै, एफक्यूबले फिल्मलाई १३ सोज बाँडेको छ । नेपालका मल्टीप्लेक्सले उपलब्ध गराएको सोज हेर्दा ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ राम्रो भएको खण्डमा दशैं विदामा यो फिल्मले नेपाली बक्सअफिसमा ठूलो अंक जोड्ने पक्का छ ।

मल्टीप्लेक्समा उत्सव, सिंगल थिएटर सुनसान
यतिबेला मल्टीप्लेक्समा उत्सवको माहोल चलिरहँदा सिंगल थिएटर सञ्चालक भने टाउकोमा हात राखेर बस्न बाध्य छन् । किनभने, सिंगल थिएटरमा विदेशी फिल्म खासै लाग्दैनन् । प्रदर्शन भए पनि दर्शकको उपस्थिति मल्टीप्लेक्समा जस्तो उत्साहपूर्ण हुँदैन । गत वर्षको दशैंमा ‘छक्का पञ्जा ३’ ले जबरजस्त व्यापार गर्दा सिंगल थिएटरमा उत्सवको माहोल थियो । तर, यस वर्ष दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म दशैंपछि मात्र प्रदर्शन हुँदैछ ।

असोज ३ बाट प्रदर्शनमा आएको ‘कबड्डी ३’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाएको थियो । यो फिल्म चलिदिँदा लामो समयदेखि रोकिएको सिंगल थिएटरका कर्मचारीले तलब पाए । घटस्थापनाको दुई दिन अगाडि प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ को कमाईले कर्मचारीलाई बोनस बाँड्न पाउनेमा हल सञ्चालक विश्वस्त थिए । तर, फिल्मले हलमा हावा खाँदा आशा निराशामा परिणत भएको छ ।

यो फिल्मले हलमा दर्शक तान्न असफल हुँदा असोज २४ बाट प्रदर्शन हुन लागेको फिल्म ‘छ माया छपक्कै’ असोज १७ मा ल्याउन सिंगल थिएटरका हल सञ्चालकहरुले दीपक-दीपा समुहलाई आग्रह गरिरहेका छन् । तर, अब त्यो सम्भव नभएको निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । यसको मलतब, यस वर्षको दशैंमा ‘वार’ का कारण मल्टीप्लेक्समा उत्सवको माहोल चल्दा सिंगल थिएटर भने सुनसान हुने भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.