आजैको रात (कबिता)

0 33

पुलिसको दुर्गन्धे खोरभित्र
रोएथ्यौँ कसरी खुसीहरूले
दलदलका अहङ्कारहरू बिर्सेर
एकआपसमा अँगालो मार्दै
बिताएथ्यौँ कसरी
गाउँदै नाच्दै र उफ्रँदै
उन्मुक्तिको उन्मादमा सिङ्गो रात ।
उषाको अरुणिमासँगैँ
हातमा रातो अबिरको थाली लिएर
पर्खिरहेको थियो लोकतन्त्र
फलामे ढोकाबाहिर
सूर्योदयभन्दा पहिले नै
तोडियो जब फलामे पिँजरा
रंङ्गिएथ्यौँ कसरी पूरै शरीर
युद्ध र आन्दोलनका रङ्गहरूले ।
अहँ, हामीले सुनेनौँ त्यस बिहान
चराहरूले गाइरहेको उषाको सुन्दर गीत पनि
अहँ हामीले देखेनौँ त्यहाँ
पूmल बनेर मुस्कुराइरहेको वासन्ती सौन्दर्य पनि
किनकि गर्जिरहेथ्यो गगन दिगन्तसम्म एउटै ध्वनिले
‘लोकतन्त्र जिन्दावाद’ को नाराले ।
दर्जन वर्षहरू बितेछन्
आज पनि गाइरहेछु उसै गरी
लोतन्त्रको गीत निरन्तर
फेरि पनि किन लुटिँदै छु यसरी
दर्जनौँ पटक आफ्नै नायकका भाषणहरूले
सुजरल्याण्ड र सिङ्गापुरका उधारा सपनाहरूले ?
भन्नुहोला हजूर
सगरमाथा हो शिर नेपालीको
कसरी झुक्न सक्छस् तँ ?
कसरी लुटिन सक्छ कोही यहाँ ?
देख्नुभएन यी कसरी खाइरहेछु
लाखौँ लात पराईहरूको
मुटुभरि अकथ्य पीडा पिएर
कसरी पुरिएरहेको छु आफै
विदेशीका जुठा डब्बा, सिसी र
आची पुछेका पेपरहरूले ।
कसरी लुटिइरहेको छु
कोका र पेप्सीको गुलियोले
र बेचिइरहेको छु
महगा ‘ग्याजेट’ का लतहरूले
कसरी डुबिरहेको छु
विदेशी रक्सीका रङ्गीन विज्ञापन र
नग्न तस्वीरहरूका नशाले
कसरी पिसिइरहेको छु
रेमिट््यान्स नामको
आफ्नै सन्तनको खुनपसिनाको धूवाँ उडाउँदै
आफ्नै छातीमाथि कुद्ने
प्राडो पाजेरो र रोल्सरोयहरूले
कसरी लिलाम भइरहेको छु हरदिन
नून तेल पिठो र खैनीका प्याकेटहरूले ।
भन्नुहोला हजूर
के सकिइस् त पूरै ?
हैन बाँकी छु अझै
बाँकी छ
भूकम्पले भत्काएको बुकुरोको भग्नावशेष
बाँकी छ साहूको ऋण र
क्रान्तिको उधारो तमसुकहरूको बोझले
कुप्रिएको एक मुठी ज्यान
बाँकी छ मसँगै उभिएको
यो भोको र रुग्ण शहीदको सन्तान
र पनि विवशछु ‘कामरेड’ को काशनमा
डोकाभरि पूmलहरू बोकेर
‘कामरेड’ कै पूजामा हाजिर हुन
भन ए लोकतन्त्र !
किन ल्याइस् मलाई पुलिसको खोरबाट
फलामको गजबार भाँचेर त्यस बिहान ?
र झन् अलपत्र पारिस् यसरी
शहीदको रगतले सर्वाङ्ग भिजाइदिएर ?
( लेखक घनश्याम शर्मा पौड्याल ०६२/६३ को लोकतान्त्रिक आन्दोलनको समयमा रहेको सात दलिय गठबन्धनको एक घटक तात्कालिन जनमोर्चा नेपालका केन्द्रिय नेता हुनुहुन्थ्यो ।)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.